स्कर्टले दिएको मनोसामाजिक समस्या र मनोविमर्शकर्ताको सहयोग

१. परिचय तथा पृष्ठभूमि:

सिता र गीता (नाम परिर्वतन गरिएको)कक्षा ९ मा अध्ययनरत दुई घनिष्ठ मित्र थिए। उनीहरूको मित्रता प्रगाढ थियो। एकदिन सिताको जन्मदिनको अवसरमा गीताले मायाको चिनोस्वरूप एउटा स्कर्ट (लुगा) उपहार दिइन्। सिताले उक्त उपहार खुसीसाथ स्वीकार गरी घरमा ल्याएर आफ्नो दराजमा सुरक्षित राखेकी थिइन्।

२. समस्याको सुरुवात र विकास:

केही समयपछि, सिताकी एक आफन्त दिदीले थाहै नदिई उनको दराजबाट उक्त स्कर्ट झिकेर आफ्नो गाउँ लगिन्, जुन सिताको घरबाट टाढा थियो। करिब छ महिनापछि, जब सिता र गीता कक्षा १० मा पुगे, उनीहरूबीच त्यही स्कर्टको विषयलाई लिएर विवाद सुरु भयो। गीताले आफ्नो पुरानो स्कर्ट फिर्ता माग्न थालिन्। सिताले उक्त स्कर्ट दिदीले लगेको र फिर्ता गर्न नसक्ने अवस्थामा रहेको बताइन्, तर गीताले त्यही पुरानै स्कर्ट चाहिने जिद्दी गरिन्। सिताले दिदीलाई फोन सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया नपाएपछि उनी थप तनावमा परिन्। यो सामान्य विवादले सिताको जीवनमा गम्भीर मनोसामाजिक असरहरू पार्न थाल्यो, उनी दिनानुदिन तनावग्रस्त हुन थालिन्। विद्यालय जान मन लाग्न छाड्यो। पढाइमा ध्यान केन्द्रित गर्न नसक्दा परीक्षामा अनुत्तीर्ण भइन्। दैनिक क्रियाकलाप, खानपिन (विद्यालय पठाएको खाजा पनि नखाने) जस्ता कुराहरूमा समेत उनको अरुचि बढ्यो।

३. मनोविमर्श हस्तक्षेप:

यसै क्रममा, मनोविमर्शकर्ताले अन्य बालबालिकाहरूलाई दैनिक रूपमा पालैपालो परामर्श दिइरहेको थाहा पाइन्। एकदिन सिताले आफैं अघि सरेर आफ्नो लागि परामर्शको समय मागिन्।

पहिलो सत्रमा सिताले आफ्ना समस्याहरू खुलेर व्यक्त गर्न सकिनन्। उनी निकै हतोत्साहित र मौन देखिन्थिन्। मनोविमर्शकर्ताले उनलाई सहज बनाउन खुला प्रश्नहरू (open questions) सोधेर कुराकानीको सुरुवात गरे। क्रमिक सत्रहरू: मनोविमर्शकर्ताले धैर्यपूर्वक विभिन्न मनोबैज्ञानिक प्रविधिहरू (techniques) प्रयोग गर्दै सितासँग कुराकानी अगाडि बढाए, तनाव र छटपटी महसुस हुँदा शान्त हुनका लागि गहिरो श्वासप्रश्वास (deep breathing) अभ्यास गराइयो। उनको जीवनका महत्त्वपूर्ण व्यक्ति, सम्बन्ध र सहयोग प्रणालीबारे बुझ्न ‘मी म्याप’ (Me Map) र पारिवारिक वंशवृक्ष (Family Genogram) जस्ता विधिहरूको प्रयोग गरियो, जसले उनको पारिवारिक वातावरण बुझ्न र समस्याको जड पहिचान गर्न मद्दत गर्‍यो। उनले प्रत्यक्ष व्यक्त गर्न नसकेका भित्री डर र इच्छाहरू बुझ्न वाक्य पुरा गर्ने परीक्षण (sentence completion test) (जस्तै: “मलाई सबैभन्दा धेरै डर… लाग्छ,” “यदि मसँग पैसा हुन्थ्यो भने म…”) जस्ता अभ्यासहरू गराइयो। उनको आत्मविश्वास पुनः स्थापित गर्न र आफ्नै शक्ति तथा आशाहरू पहिचान गर्न ‘जीवनको रुख’ (Tree of Life) अभ्यास गराइयो। साथै, भविष्यमा आउन सक्ने तनाव व्यवस्थापन गर्ने सीप सिकाउन आत्म-हेरचाह योजना (Self-Care Plan) बनाउन लगाइयो। यी प्रविधिहरू मार्फत ७ वटा परामर्श सत्रहरूपछि सिताले आफ्ना भावना, तनाव र समस्याका जडहरू खोल्न थालिन्। उनलाई आफ्ना विचार र भावनाहरू सुरक्षित रूपमा व्यक्त गर्ने वातावरण प्रदान गरियो।

४. नतिजा र समाधान:

मनोविमर्श प्रक्रियापश्चात् सितामा निम्न सकारात्मक परिवर्तनहरू देखा परे :

मनोविमर्शकै क्रममा, उनले गीतालाई स्कर्टको सट्टा क्षतिपूर्ति दिने समाधान निकालिन्। तर, त्यसका लागि आवश्यक ५०० रुपैयाँ कसरी जुटाउने भन्नेमा उनी चिन्तित थिइन्। उनले मनोविमर्शकर्तासँग भनिन्, “म आमासँग माग्न डराएको छु। घुम्न जान, खान जस्ता विभिन्न बाहाना बनाएर पैसा माग्दा आमाले पैसा नदिनुभएको र यति धेरै किन चाहियो भन्नुभएको थियो।” घरमा पैसा माग्न नसक्ने र समस्या समाधान हुन नसक्ने अवस्था देखेपछि, समस्याको तत्काल समाधानका लागि मनोविमर्शकर्ताले आफै ५०० रुपैयाँ जुटाएर दिइन्। उक्त रकमले सिताले गीतालाई क्षतिपूर्ति तिरिन्, जसले गर्दा उनीहरूको मित्रता पुनः सुमधुर भयो। उनी पूर्ण रूपमा मानसिक तनावबाट मुक्त भइन् र आत्मविश्वासका साथ कक्षा १० को परीक्षा (SEE) दिइन् र ३.१२ GPA सहित राम्रो नतिजाका साथ उत्तीर्ण भइन्। उनी अहिले खुसी र आशावादी छिन् र सोही विद्यालयमा आफ्नो थप अध्ययनको लागि उत्साहका साथ योजना बनाइरहेकी छिन्। मनोविमर्शकर्ताले बेलाबेलामा उनको अवस्थाबारे सोधखोज (रेखदेख) गरिरहनुभएको छ। सिताले मनोविमर्शकर्तालाई “हजुर भगवान बनेर आउनुभयो” भन्दै कृतज्ञता व्यक्त गर्छिन्।

५. निष्कर्ष तथा सिकाइ:

यो घटना अध्ययनले निम्न कुराहरू स्पष्ट पार्दछ: किशोरकिशोरीहरूबीच हुने सामान्य देखिने विवादले पनि उनीहरूको मानसिक स्वास्थ्य र शैक्षिक उपलब्धिमा गम्भीर नकारात्मक असर पार्न सक्छ।

समयमै पहिचान गरी गहिरो श्वासप्रश्वास, मी म्याप, पारिवारिक वंशवृक्ष, जीवन-वृक्ष र आत्म-हेरचाह योजना जस्ता उचित मनोविमर्श प्रविधिहरू प्रदान गर्न सकेमा यस्ता मनोसामाजिक समस्याहरूको प्रभावकारी समाधान निकाल्न सकिन्छ। विद्यालय तहमा मनोविमर्शकर्ताको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ, जसले विद्यार्थीहरूलाई भावनात्मक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन मद्दत पुर्‍याउँछ। सहयोगी वातावरण र सही मार्गदर्शनले विद्यार्थीहरूलाई कठिन परिस्थितिबाट बाहिर निस्कन र आफ्नो जीवनलाई सही दिशा दिन उत्प्रेरित गर्दछ।

सकुन्ता पाण्डे (मनोविमर्शकर्ता)

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these